दाङ, १४ कात्तिक । नेपाल प्रिमियर लिग (NPL) अन्तर्गतको SBL NPL ट्रफी टूर यही कात्तिक १६ गते आइतबार दाङमा आयोजना गरिने भएको छ। देशका प्रमुख सहरहरूमा सुरु गरिएको ट्रफी यात्रा अहिले लुम्बिनी प्रदेश हुँदै दाङ आइपुग्ने तयारी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअनुसार ट्रफी दिउँसो १२ बजे भालुवाङ, १२:४५ देखि १ बजेसम्म लमही क्रिकेट मैदान, १:३० देखि २:३० बजेसम्म घोराही क्रिकेट मैदान र पाण्डवेश्वर मन्दिर, र अन्त्यमा ३ बजे तुलसीपुरमा सार्वजनिक अवलोकनका लागि प्रदर्शन गरिनेछ।
आयोजकका अनुसार ट्रफी टूरको उद्देश्य देशभरका क्रिकेटप्रेमीमा नेपाल प्रिमियर लिगप्रतिको आकर्षण बढाउने, स्थानीय समुदायमा खेलप्रतिको जागरण ल्याउने, र युवामा खेलप्रतिको उत्साह जागृत गर्ने रहेको छ। गत वर्षको संस्करणमा बिराटनगर सुपरकिङ्स विजेता बनेको थियो। यस वर्षको SBL NPL लाई अझ प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउन तयारी तीव्र पारिएको नेपाल क्रिकेट संघ (CAN) ले जनाएको छ।
नेपाल क्रिकेट संघ (CAN) का केन्द्रीय सदस्य प्रदीप मजगैयाँका अनुसार, ट्रफी टूरले दाङका खेलप्रेमी तथा युवा खेलाडीहरूमा क्रिकेटको क्रेज बढाउने र NPL को प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।