घोराही, ५ भदौ । यहि असाेज ४ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको आज घाेराहीमा पत्रकार सम्मेलन गरी आयाेजक घाेराही-१४ स्थित नयाँबजार युवा क्लब युएनबीसीले जानकारी गराएकाे छ ।
युएनबीसीका सहसचिव तथा प्रतियोगिता संयाेजक गाेपाल कुँवरले फुटबल प्रतियोगिता घाेराही १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमी खेलमैदानमा हुने जानकारी दिनुभयो ।
क्लबका सदस्य तथा खेलाडी शक्तिमान बुढा मगरकाे सम्झनामा आयाेजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन सबै क्लबलाई उहाँले आग्रह गर्नुभएको छ।
प्रतियोगिताकाे उपाधि जित्ने टाेलीले नगद १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टाेलीले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।
यसैगरी, विधागत रुपमा पनि खेलाडीलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार, उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलकिपर, सर्वाधिक गाेलकर्ता, उत्कृष्ट डिफेन्डर र उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछभने प्लेयर अफ द म्याचलाई पनि नगद १ हजार रुपैयाँ पुरस्कारकाे व्यवस्था रहेकाे छ ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क पाँच हजार रुपैयाँ ताेकिएकाे र आगामी असाेज २ गतेसम्म दर्ता गर्न सकिनेछ ।
फुटबल हेर्नका लागि दर्शकले २० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने क्लबले खेलाडी टाेली परिवर्तन गर्न पाउने व्यवस्था गरिएको क्लबका काेषाध्यक्ष मनकाजी बुढाले बताउनुभयो ।
साथीकाे सम्झना स्वरुप गर्न थालिएको प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकाससँगै खेलाडीको क्षमता विकासमा पनि सघाउने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले यस क्षेत्रकै पुरानाे फुटबल क्लबले थुप्रै खेलाडी उत्पादन गर्नुका साथै खेलकाे विकासका लागि उल्लेख्य याेगदान दिएकाे बताउनुभयो ।
प्रतियोगिता भव्य रुपमा आयाेजना गर्न विभिन्न उपसमिति गठन गरी जिम्मेवारी पनि बाँडफाँड गरिएको छ ।