घोराही,२२ मंसीर । घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आज घोराही १० नारायणपुरमा भएको सार्वजनिक सुनुवाईमा वडा नम्बर ८, ९, १०, ११ र १२ लाई आधार बनाएर सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा वडा कार्यालयले चालु आर्थिक वर्षको त्रैमाससम्म सम्पादन गरेका काम र योजनाका बारेमा जानकारी गराएका थिए । वडा सचिवहरुले वडा तहबाट विनियोजित बजेट कार्यान्वनमा रहेको बताउँदै अधिकांश योजनाहरुको सम्झौता भई कार्यान्वयनको प्रकृयामा रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा र पालिकाबाट भईरहेका कामलाई पूर्णता दिन, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, अलपत्र परेका पूर्वाधारका कामलाई सम्पन्न गर्न, शिक्षा, स्वास्थ्य, सामाजिक विकासका कामलाई नागरिकमैत्री बनाउन सुझाव दिनुभएको थियो ।
सो अवसरमा नगरप्रमुख चौधरीले तीन तहका सरकारले पालिकाभित्र संचालन गरेका कामका बारेमा आम नागरिकले थाहा नपाउँदा सबै योजना पालिकाकै भएको बुझाईले पनि समस्या भएको बताउनुभयो । उहाँले प्रदेश र केन्द्र सरकारले पालिकाका लागि तोकेको बजेट अहिलेसम्म सुनिश्चित नगरेको हुँदा कतिपय योजना कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । तर, पालिकामातहतका योजना, कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाईएको उहाँको भनाई थियो । पूर्वाधारसँग जोडिएका विकासे योजनालाई समयमै सम्पन्न गर्न पालिकाले समय सीमा तोकेरै काम गरिरहेकाले अब समस्या हट्दै जाने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख हुमा डिसीले महिला, बालबालिका, जेष्ठ नागरिकका विषयमा पालिकाले धेरै काम गर्दै आएको बताउनुभयो । उहाँले महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निशुल्क क्यान्सर जाँच, स्वास्थ्य सचेतना, न्यायमा पहुँच, लागू औषध नियन्त्रणका प्रयास जारी राखेको बताउनुभयो ।
वडाबासीबाट आएका जिज्ञासा र गुनासोलाई वडा अध्यक्षहरुले पनि सम्बोधन गर्नुभएको थियो । वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र शाह, वडा नम्बर ९ का अध्यक्ष चैतु चौधरी, वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने र वडा नम्बर १२ का अध्यक्ष द्रोर्णबहादुर बहकरीले जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल, सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, पन्जीकरण शाखा प्रमुख दिवाकर योगीले पनि सहभागीबाट आएका जिज्ञासाको जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाईमा नागरिक सुनुवाई प्रतिवेदन र सेवाग्राहीले सेवा लिँदा तयार पारिएको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण छबि पुरीले गर्नु भएको थियो ।