शिवराज खनाल
देउखुरी, १९ पुस । देउखुरीको एक गाउँका महिलाले विगत ३ वर्षदेखि सामूहिक च्याउखेती गरिरहेका छन् । ७ जना महिलाले सुरुवात गरेको च्याउखेतीमा अहिले काम गर्न भ्याइ नभ्याइ त भएकै छ, त्यसबाट मनग्य आम्दानी समेत हुँदै आएको छ । दाङको लमही नगरपालिका – ६ देउपुरका महिलाले ३ वर्ष अघिदेखि सफलता थारु लघु उद्यमी समूह गठन गरी सामूहिक च्याउ खेती सुरु गरेका हुन् ।
आफ्नो आयस्तर वृद्धिसँगै स्वरोजगार बन्ने उद्देश्यले च्याउखेती सुरु गरेको उनीहरूको भनाइ छ । समूहको एक लाख ५० हजार लागतबाट सुरुवात गरेको च्याउखेतीमा हाल एक लटमा ४ लाखभन्दा बढी आम्दानी हुने गरेको समूहकी अध्यक्ष सुकमानी चौधरी बताउँछिन् । ‘एक लाख रुपैयाँको लागतमा सामूहिक च्याउखेती सुरु गरेका हौँ’, उनले भनिन्, ‘एक लटमा ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’
हाल उनीहरूले उत्पादन गरेको च्याउ दाङका स्थानीय बजारमा पुग्ने गरेको र बाहिरी जिल्लाबाट पनि माग हुन थालेको छ । ७ जना महिला मिलेर सुरु गरेको च्याउखेतीमा सदस्यले कामको बाँडफाँड गरेर उत्पादनदेखि बजारसम्म पु¥याउने गरेको समूहकी कोषाध्यक्ष लीलामती चौधरी बताउँछिन् । च्याउखेती गर्न ५ वटा च्याउघर बनाइएका छन् । एउटा पराल काट्ने मेसिन, पानी चार्ने स्प्रे टेङ्कीलगायतका सामग्री समेत निर्माण तथा खरिद गरिएको छ । उनीहरूको फर्ममा डल्ले र कन्ने च्याउ गरी २ प्रजातिका च्याउखेती गरिएको छ ।
व्यावसायिक च्याउखेती गर्दै आएका महिलालाई बेमौसमी खेतीका लागि एसीलगायतका सामग्री सहयोग गरेको लमही नगरपालिका उद्यम विकाश सहजकर्ता रीता पुनको भनाइ छ । यता लमही नगरपालिका वडा नं। ६ का वडाध्यक्ष श्यामनारयण चौधरीले वडा कार्यालयबाट महिलाहरूलाइ स्वरोजगार बनाउन वडास्तरबाट विभिन्न कार्यक्रमको तालिमका लागि विशेष जोड गरिएको र पालिकामा उत्पादित वस्तुलाई बजारीकरणका लागि कोसेली घर निर्माण गरेको बताउँछन् ।