वीपीको दाङ यात्रा ः प्रजातान्त्रिक समाजवादका लागि प्रेरणा

Admin

डा.सुदीप गौतम

२००७ सालपछि नै पश्चिम तराईमा किसान र जमिनदारको बिचमा झगडा भइरहेको थियो । यो मूलतः जमिन र शोषणको विषय थियो । किसानमा आएको राजनीतिक जागरणले त्यहाँ जमिनदार विरुद्ध जनमत तयार हुदै थियो ।

वि।स। २००८ वैशाखमा बर्दियाका कमैया ९जमिनदारहरुका घरमा थोरै ज्यालामा सम्पूर्ण काम गर्ने श्रमिक० हरुले विद्रोह गरे । त्यहाँको अवस्था साम्य पार्न क्याविनेटले खाध्य मन्त्री दाङका भरतमणि शर्मालाई जिम्मा दियो तर भरतमणि शर्मो स्थिति साम्य पार्न सकेनन् । २००८ साल वैशाख १५ गते बर्दियाको राजापुरमा विद्रोह भयो र प्रहरीको आक्रमणवाट ६ जना कमैयाको मृत्यु भयो भने १८ जना घाइते भए । त्यस घटनामा भारतीय प्रहरी समेत आई नेपाली जमिनदारलाई धरपकड गरेको बताइन्छ ।

यस घटनाले तत्कालीन गृहमन्त्री वीपी कोइरालालाई निकै आहत बनायो । त्यही समयमे वीपीले दुई वटा निर्णय लिए । भरतमणिलाई मन्त्रीबाट हटाउने र दाङलाई बाँके बर्दियाबाट अलग गर्ने । वीपी दाङमा आफ्नो विशेष मान्छे पठाउन चाहन्थे किनभने बर्दियामा भएको गोलीकाण्डको प्रतिकारात्मक विद्रोह दाङमा हुन सक्छ भन्ने वीपी कोइरालालाई लागेको थियो ।

यसैगरी वीपीलाई अर्को डर के पनि थियो भने उनले आफ्नो क्याविनेटबाट दाटका भरतमणिलाई निष्कासन गर्ने तयारी गरेका थिए । उनलाई दाङका कांगेसहरुलाई भरतमणिले भडकाएर आफू विरुद्ध लैजान्छन् कि भन्ने डर पनि थियो ।

त्यसैले तीन महिनासम्म दाङलाई अलग जिल्ला बनाउने भरतमणिको प्रस्ताव नमानेका वीपीले बर्दिया काण्ड लगत्तै २००८ वैशाख २६ गते क्याविनेटबाट दाङलाई छुट्टै जिल्ला घोषणाको निर्णय गराए र आफ्नो विश्वासपात्र अनिरुद्रप्रसाद सिहलाई दाङमा वडा हाकिम गराएर पठाए । वीपीले सम्भावित दुई वटा विद्रोह रोक्ने निर्देशन दिएर आफूलाई दाङ पठाएको अनिरुद्रप्रसाद सिहले आफ्नो सस्मरणमा उल्लेख गरेका छन् ।

२००८ कार्तिक महिनामा वीपी गृहमन्त्रीबाट बाहिरिए । मात्रिकाको नयाँ सरकार बन्यो पार्टीभित्र असन्तुष्टि चुलिदै जाँदा २००९ जेठ १३ मा जनकपुरमा पाँचौं महाधिवेशन सम्पन्न भएको थियो । यो अधिवेशनवाट वीपी सभापतिमा त चुनिए तर भद्रकाली मिश्र समूह र बालचन्द्र शर्मा, भरतमणि समूह गरी दुईवटा समूहले पार्टी अधिवेशन बहिष्कार गरे र अलगै पार्टी निर्माण गरे ।

दूरदर्शी वीपी बालचन्द्र शर्मा भरतमणिको विद्रोहबाट पार्टीलाई कम क्षति हो भन्ने चाहन्थे, त्यसैले छ महिनाभित्रै भरतमणिलाई कांग्रेसमा फिर्ता गराउन सफल भए । वीपी दाङको किसान समस्याबाट थोर बहुत त परिचित थिए । उनले २००८ सालमा दुईवटा अध्ययन टोली पठाएर दाङको भूमि समस्याबारे जानकारी लिएका थिए । दाङको समस्या अचम्मको थियो, त्यसैले उनले दाङको समस्यालाई अझ नजिकबाट बुझ्न चाहन्थे ।

वीपीले २००९ साल चैत्रमा दाङमा एक महिने शिविर सञ्चालन गरेका थिए । त्यसको समापनमा वीपी स्वयम् दाङमा आएका थिए । विक्रम संवत् २००९ साल चैत्र ५ गतेदेखि दाङको भरतपुरमा प्रशिक्षण शिविर सुरु भयो एक महिनासम्म चलेको प्रशिक्षण कार्यक्रम समापन गर्न वीपी, २०५० वैशाख २ गते दाङका लागि हिँडे । उनी वैशाख ३ गतेको रात जरवामै बसे ।

दोस्रो दिन ४ बैशाखमा देउखुरी परशुनारायण चौधरीका घरमा बसे र दिउँसो उनले त्यहाँ किसानको एउटा सभालाई सम्बोधन गरे । सबै जसो सहभागी थारु समुदायबाटै थिए । उनीहरु ज्यादै सोझा गाउँले थिए र भूमिपति धेरै नै शोषण गरेका थिए । त्यहाँ एकजना थारु पुरुषले वीपीलाई उनले आफ्नो ऋण तिर्नका लागि छोरी, बहिनी र साली बेच्नु परेको कुरा सुनाएको वीपीले आफ्नो जेल डायरीमा उल्लेख गरेका छन् ।

वीपी वैशाख ५ गते दाङ प्रशिक्षण शिविरमा सहभागी हुन आए । उनलाई चार जना थारु भरियाले बोकेको तामदानमा ल्याइएको थियो । पछाडि भागमा पिलो उठेर घोडामा समेत चढ्न नसकेका वीपीलाई पिलोभन्दा तामदान बोकिरहेका थारु किसानले सुनाएका व्यथाले पिरोलिरहेको थियो ।

वीपीलाई स्वागत गर्न कुइरेपानीमा किसुनजी, गणेशमानजी, तेजबहादुरलगायत रातो सर्टलगायका करिब सय स्वयम्सेवक तथा हजारको संख्यामा रहेको गाउँलेहरु त्यहाँ पुगेका थिए । विभिन्न ठाउँमा प्रवेशद्वार खडा गरिएका थिए । बाटो– बाटोमा अर्धनग्न थारु किसानले सर्वत वितरण गरिरहेका थिए । यी दृश्य र किसानका मार्मिक पीडाले वीपीले परिकल्पना गरिरहेको नयाँ नेपालको खाकालाई स्पष्ट आकार दिने काम गयो ।

वैशाख ७ गते घोराहीमा निकै लामो जुलुस र सभा भयो । वीपीले त्यस विशाल जनसभालाई सम्बोधन गरे । तीन दिनसम्म दाङका किसानको समस्यालाई नजिकबाट हेरिरहेका वीपीले घोराहीको त्यही आमसभामा एउटा घोषणा गरे – नेपाली कांग्रेसको अब अगाडिको कदम भनेको जमिनको स्वामित्वको आधारमा जमिनदारहरुको शोषणको अन्त्य उनले जिल्लाका नेतातर्फ फर्केर निर्देशन दिए ।

‘अब तपाईंहरुको लागि तात्कालिक कदम भनेको पहिली बेगारी प्रथा समाप्त गर्ने र दोस्रो जिरायत जमिन ९भूमिपतिका लागि जमिन अरुले नै विना ज्याला कमाइदिनु पर्ने प्रथा अन्त्य गर्ने हो । ’

वैशाख ८ मा दाङ शिविर सकियो । त्यस कार्यक्रममा पनि वीपीले सहभागीलाई सम्बोधन गरे । शिविरको समापनका अवसरमा वीपीले प्रजातान्त्रिक समाजवाद र आर्थिक क्रान्तिबारे लामो व्याख्या गरे । वीपीको दाङको त्यो भाषण तेजबहादुर प्रसाईले हुवहु टिपेका थिए । जो पछि नेपाल पुकारमा छापिएको थियो ।

वीपीले दाङको भाषणमा बोलेका अधिकांश कुराहरु नै नेपाली काग्रेसले २०१२ सालको छैठौं महाधिवेशनमा पारित गरेको प्रजातान्त्रिक समाजवादको नीतिभित्र भेटिन्छन् । त्यस दिन वीपीले भरतपुर स्कुलको शिलान्यास पनि गरेका थिए । तर भरतपुर स्कुलको शिलालेखमा भने उनले वैशाख ५ गते स्कूल भवन शिलान्यास गरेको उल्लेख छ ।

घोराहीको कार्यक्रम सकेर वैशाख ९ गते वीपी १२ माइलको बाटो टरिगाउँ गए । बाटैभरी प्रवेशद्वार ध्वजा–पताका र मालाहरु सहित नेपाली काग्रेससंग सम्बद्ध किसान स्वागतमा बसेका थिए । हापुर खोलादेखि एउटा विशाल जनसमूह वीपीसँगै हिंडिरह्यो । २०१० वैशाख १० गते टरिगाउँ ९पश्चिम दाङ० मा विशाल जनसभा आयोजना गरिएको थियो । त्यो आमसभा विथोल्ने विपक्षीबाट चेतावनी आयो तर भरखरै शिविर सम्पन्न भएकोले काग्रेसका कार्यकतांमा उत्साह थियो । त्यस बेलाको अवस्था स्मरण गर्दै तिलकबहादुर डाँगीले लेखेका छन्,

कार्यकर्तामा अपार उत्साह थियो । वीपी सुरक्षा गर्न आफूहरु समक्ष रहेको कार्यकर्ताहरुमा आट थियो । किसान त्यत्तिकै उत्साहित थिए । ससुर नेकर जे आई उही सिध्यादेवी जो आउँछ उसलाई सिध्याइदिन्छौं ।

टरिगाउँमा १० हजारभन्दा बढीको उपस्थिति थियो । त्यहाँ वीपीविरुद्ध प्रदर्शन गरियो । मञ्चमा कार्यक्रम सुरु हुनासाथ एउटा जत्था हात हातमा लाठी लिई आइरहेको देखेपछि सुरक्षार्थ तैनाथ स्वयम्सेवकहरु त्यो भिडमा जाइलागे र तितरवितर पारे । आमसभा यथावत चल्यो । त्यो प्रदर्शनलाई वीपीले यसरी स्मरण गरेका छन् ।

‘मातृका समूहले मेरा विरुद्ध एक अर्थहीन प्रदर्शन गर्यो । हाम्रो भिड रुष्ट भयो । प्रत्याक्रमणको प्रयास गर्यो । केहीलाई कुटपिट पनि गर्यो । केही भने भागे । सभापछि करिव चार माइलको बाटो म आफ्नो बासस्थानमा फर्किए । मैले खवर पाए किसान समूह गाउँ–गाउँ घुमिरहेका छन् र एक ठाउँमा उनीहरुले तानाशाही सामन्तले अवैध रुपमा जम्मा गरेको खाद्यान्न खोसेर कुतवालाहरुलाई बाँडे ।

हामीले यसमा सम्यम नअपनाएको भए जिल्लाभरि आगो बल्ने थियो र किसान आन्दोलन सुरु हुने थियो । अरु जिल्लाहरु तयार हुनुभन्दा अगाडि नै म भने यसका लागि तयार थिए । हालको भ्रमण मेरा लागि ठुलो साक्षी वन्न पुग्यो । सत्य के थियो भने जनता कृषि क्षेत्रमा न्याय चाहन्थे ।’

११ वैशाखमा देउखुरीको धर्मशालामा विश्राम गरेर वीपी अर्को दिन पटना गए । वीपी आउँदा पनि दाङ देउखुरीका किसानले उत्साहपूर्ण स्वागत गरे र जादा पनी उत्साहपूर्ण विदाइ ।

वीपी दाङ आउँदा कुन सोचाइ लिएर आएका थिए त्यो स्पष्ट नदेखिए पनि फर्कदा दंगाली जनताले उत्साहका साथ प्रकट गरेको परिवर्तनको आकांक्षाबाट उनीभित्र अब काग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा लैजाने दृढताले जन्म लिइसकेको थियो ।

(साभार ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ पुस्तकबाट) 

प्रतिक्रिया