घोराही उपमहानगरपालिकाले पालिका भित्र रहेका जलाशयहरुलाई पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार विकासमा जोड दिने

Admin

घोराही १० , असोज । घोराही उपमहानगरपालिकाले पालिका भित्र रहेका जलाशयहरुलाई पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार विकासमा जोड दिने भएको छ । विश्व पर्यटन दिवसका अबसरमा बुधबार उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम जलाशयको अवलोकन गर्दै यसको उपयोगीतालाई बहुउपयोगी बनाउने गरि जलाशयको पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको पालिकाले जनाएको छ ।

नगर स्तरीय पर्यटन तथा संस्कृति प्रवद्र्धन समितिले नगरले बनाएका कृत्रिम जलाशयहरुलाई प्रचारप्रसारमा ल्याउने गरि पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।

उपप्रमुख हुमाकुमारी डिसीको नेतृत्वमा समिति संयोजक रमेशकुमार पाण्डे, पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, पर्यटन शाखाका प्रमुख बालकृष्ण खनाल, पत्रकारलगायतको टोलीले पालिकामा रहेका प्रमुख कृत्रिम जलाशयहरुको अध्ययन अवलोकन गर्दै यसको उपयोगितासँगै पर्यटन प्रवद्र्धनका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा समिक्षा पनि गरेको छ ।

टोलीले चेपे, चरिंगे, ढिकपुर, कर्जाही र गुलरीया जलायशको अध्ययन र अबलोकन गरी समिक्षा पनि गरेको हो । सो अवसरमा, जलाशयको उपयोगिताको पछिल्लो अवस्थाका बारेमा स्थानीयबासीसँग धारणा लिन सके यसको लाभ र हानी बारे अवगत हुने सुझाव दिईएको थियो । यसैगरी, निर्मित जलाशयको संरक्षण गरि सौन्दर्यकरणमा जोड दिन सके थप पर्यटक भित्र्याउन सकिने, सरसफाइ र सुरक्षामा ध्यान दिन पनि सुझाव दिईएको छ । पर्यटन समिति संयोजक पाण्डेले  पालिकाले जलायशसँगै अरु थुप्रै पर्यटनका पूर्वाधार बनाउने काम गरेको हुँदा यसलाई पर्यटकसँग जोड्न मिडियाले साथ दिनुपर्ने बताउनुभयो ।

अहिले जलाशयबाट किसानहरुले सिचाई गरिरहेका छन् भने स्थानीयहरुले माछापालन गरेर आयआर्जन गर्दै आएका छन् । पर्यटन पवबद्र्धन गर्दै जलविहारका रुपमा डुंगा सञ्चालन गर्ने, रमाइलो गर्न, फोटो खिच्ने गरि पूर्वाधारहरु तयार पारेर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बनाउने योजनाका पालिका अघि बढ्न लागेको शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो ।  घोराही उपमहानगरपालिकामा साना ठूला गरी ४२ बढी जलाशय रहेका छन् ।


प्रतिक्रिया