घोराही १४ को गोर्खा टोल फोहर बर्गिकृत टोल घोषणा

Admin


घोराही,१९ कार्तिक । घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाई युक्त नगर घोषणा गर्नका लागि गल्ने र नगल्ने फोहरमैला बर्गिकृत टोल घोषणाको कार्यक्रम सुरुवात गरेको छ । यसै क्रममा वडा नम्बर १४ को गोर्खा टोललाई आईतबार एक कार्यक्रमका बिच फोहरमैला बर्गिकृत टोल घोषणा गरिएको हो । टोल विकास संस्थाका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त टोललाई पूर्णरुपमा फोहर बर्गिकरण टोल घोषणा गर्नुभएको हो । उहाँले सरसफाई व्यक्तिको स्वास्थ्य, इज्जत, प्रतिष्ठा सँग जोडिएको बिषय भएको बताउनुभयो । गल्ने फोहरबाट ग्यास उत्पादन थालिएको भन्दै यसले उक्त आयोजनालाई ठूलो सहयोग पुग्ने र फोहरको उचित व्यवस्थापन हुनेमा जोड दिनुभयो । नगरको चौतर्फी सफलता र परिवर्तन टोल विकास बाटै हुने भएकाले सरकारको जग भनेकै टोल विकास संस्थाहरु भएको उल्लेख गर्नुभयो । गल्ने र नगल्ने फोहर बर्गिकरणले गोर्खा टोल नमूना टोल बन्न सफल भएको र यो अभियानलाई जिवन्त बनाउन प्रेरणा मिल्ने गरि नगरले सम्मान पत्र समेत प्रदान गरेको छ । फोहर संकलनका लागि यस अघि उपमहानगरपालिकाले प्रत्येक घरलाई दुईदुई वटा डष्टविन प्रदान गरेको थियो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले सरसफाईले नै व्यक्ति र टोलको परिचय दिने बताउनुभयो । टोलको सकृयताले नै सामाजिक सुधार र विकास निर्माणका काम सफल तथा दिगो हुने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरका सबै टोलहरुलाई नमूना टोल बनाउने सोचमा सरकार रहेको भन्दै अग्रसर बनेर अभियानमा जोडिन अपिल गर्नुभयो । कार्यक्रममा वाताबरण, विपद तथा सरसफाई व्यवस्थापन समितिका संयोजक भानसिंह बुढा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सरसफाई अभियान मानव जीवनको महत्वपूर्ण पाटो भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण सरसफाई व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया