प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशको बिजयी शुरुवात

Admin

लमही, २५ फागुन । दाङको लमहीमा आजदेखि शुरु प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले  जित हासिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै केवल ७६ रनमा समेटिएपछि कर्णालीले सुखद शुरुवात गरेको हो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णली प्रदेशले अर्जुन घर्तीको ७१ रनको योगदानमा १ सय ५५ रन बनायो । कर्णालीका लागि दिनेश अधिकारीले १७ रन, दीवान पुनले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

 कर्णालीलाई सामान्य लक्ष्यमा रोक्न हेमन्त धामीले महत्वपूर्ण ४ विकेट लिए । यसैगरी, नारायण जोशीले २ विकेट लिँदा शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले समान १÷१ विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले पहिलो ५ ओभर विना विकेटको क्षतिमा ३० रन बनाएर  सुखद शुरुवात गरेपनि त्यसपछि विकेट पतन नरोकिँदा हार व्यहोर्यो । सुदुरपश्चिमका कुनै पनि ब्याटर क्रिजमा टिक्न नसक्दा नाटकीय रुपमा हार व्होर्यो ।

सुदूरपश्चिमलाई ७६ रनमा समेट्न  कर्णालीका दीपेन्द्र रावतले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर महत्वपूर्ण ७ विकेट लिएपछि जीत हासिल गरेको हो। यसैगरी, दीवान पुनले २ विकेट लिए ।

सुदूरपश्चिमका लागि खडक बोहोराले २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३÷१३ रन बनाउनु बाहेक सुदूरपश्चिमका अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । 

कर्णालीलाई महत्वपूर्ण जीत दिलाउन ७ विकेट लिएका दीपेन्द्र रावत प्लेयर अफ द म्याच भए । प्रतियोगिता अन्तरगत अब सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच खेल हुनेछ ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ ।

३ विभागीयसहित सात प्रदेश टीम सहभागी प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा हुनेछ्न् ।

यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ब्याटिङ र क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गर्नु भएको थियो ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताउनु भयो ।

प्रतिक्रिया