‘मेलमिलाप सिद्धान्तमा होइन व्यवहारमा लागु गरौ’

Admin

दाङ,१७ पुस । नेपाली कांग्रेस दाङले मेलमिलाप दिवस मनाएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी कांग्रेसले यो दिवस मनाएको हो ।

कार्यक्रममा सहभागीले मेलमिलापको नीति सिद्धान्तमा नभइ व्यावहारिक रुपमा लागु गर्नु पर्ने बताए । व्यावहारिक रुपमा मेलमिलापको नीति कार्यान्वयन नगरी सिद्धान्तको रटान लगाएर मात्रै नीतिको सही कार्यान्वयन नहुने उनीहरूले बताए । नेपाली कांग्रेसले मेलमिलापको नीतिलाई भुल्दै गएको भन्दै यसले पार्टीमा समस्या पर्दै गएको समेत उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति एवम् प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले बिपी कोइरालाले राष्ट्रलाई प्रमुख मानेर अगाडि बढेको बताउँदै कांग्रेस पनि राष्ट्र निर्माणका लागि एक भएर अगाडि बढ्नु पर्ने बताए । समय अनुसार राजनीतिक दल परिवर्तन भएर अगाडि बढ्नु पर्ने समेत उनको भनाइ छ । ‘राजनीतिक दल समय अनुसार परिवर्तन भए पनि विचार परिवर्तन हुनु हुँदैन’, उपसभापति खनालले भने । पार्टीभित्र मतभेद हुने भन्दै मतभेदलाई मेलमिलापको माध्यमबाट समाधान गर्दै अगाडि बढ्नु पर्ने उनले बताए ।

पार्टीभित्र एकताको सन्देश दिएर पार्टीलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने भन्दै खनालले पार्टीभित्रको मेलमिलापलाई हरेक नेता कार्यकर्ताले प्राथमिकतामा राख्नु पर्ने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले पार्टीले विभिन्न गतिविधि सञ्चालन गरे पनि कार्यकर्तामा उत्साह नदेखिएको बताए । यसतर्फ ध्यान दिएर अगाडि बढ्नु पर्ने भन्दै उनले पार्टीलाई नीति र विधिबाट सञ्चालन गरिनु पर्ने बताए । ‘नीति र विधिबाट पार्टीलाई अगाडि बढाउन सकियो भने पार्टी बलियो बन्छ’, उनले भने, ‘यसका लागि सबै कांग्रेसीबिच मेलमिलाप हुनु पर्छ ।’


कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले मेलमिलापलाई व्यावहारिक रूपमै कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने बताए । ‘मुखले मात्र मेलमिलाप भनेर मात्र हुँदैन’, उनले भने । निषेधको राजनीति गर्न नहुने भन्दै उनले निषेधको राजनीतिले सिङ्गो पार्टीलाई असर पु¥याउने बताए । बिपीको आदर्श भुल्दै जाँदा पार्टीमा समस्या बढ्दै गएको समेत उनले बताए ।

पूर्व जिल्ला सभापति धनश्याम रेग्मीले मेलमिलापको नाममा जे पनि सम्झौता गर्न नहुने बताए । यसतर्फ ध्यान दिएर अगाडि बढ्नु पर्ने बताए । निवर्तमान जिल्ला सभापति कीर्तिबहादुर खड्काले नागरिकको आमूल परिवर्तन हुन नसकेको भन्दै नागरिकको आमूल परिवर्तनका लागि राज्यले काम गर्नु पर्ने उनको भनाइ छ । पूर्व सभापति मोहनलाल वलीले कार्यकर्तासम्म पुगेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पवन नेपाली, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, टीका घर्ती, सावित्रा राना, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ क का सभापति प्रकाश श्रेष्ठ, २ ख का सभापति अभियान बस्नेत, क्षेत्र नं ३ ख का सभापति खिमबहादुर वली, नेपाली कांग्रेसका नेताहरू नदनकुमार शर्मा, गोविन्द मजगैयाँ, कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा बिपी कोइरालाको जीवनीबारे सुदीप गौतम र भरतबहादुर न्यौपानेले प्रमुख वक्ताका रूपमा जानकारी गराएका थिए । कार्यक्रम नेपाली काग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्व तथा कांग्रेस लुम्बिनी उपसभापति एवम् प्रदेश स्वास्थ्यमन्त्री खनालको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई उपसभापति कमासिंह भारतीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।

प्रतिक्रिया