अरीङ्गालले टोकेर मृगौलाले काम गर्न छाडेपछि प्रतिष्ठानका चिकित्सकहरुले २३ दिन उपचार गरेर वालक वचाउन सफल

Admin


दाङ,३० भदौ । अरीङ्गालले टोकेर गम्भिर घाइते भई एकाएक मृगौलाले पनि काम गर्न छाडेका रोल्पाका एक जना वालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपचार गरेर वचाउन सफल भएका छन् । रोल्पावाट रिफर भई प्रतिष्ठानमा उपचारका लागी आएका १० वर्षीय वालक शंकर परीयारको प्रतिष्ठानमा २३ दिनको लामो उपचारपछी चिकित्सकहरुले डिस्चार्ज गरेका हुन् । प्रतिष्ठानका वाल रोग विशेषज्ञ प्राध्यापक डा.दिपकराज पौडेल नेतृत्वको वाल रोग विशेषज्ञ चिकित्सक र प्रतिष्ठानका फीजिसियन डा. अजयराज गौतम नेतृत्वको चिकित्सक, नर्श, स्वास्थ्यकर्मिहरुको टोलिले वालकको मृगौलाले काम गर्न छाडेपछि तुरुन्तै डाइलाशीस गरेर विरामी वचाउन सफल भएका हुन् । पिआइसियुमा राखेर वालकको ११ चोटि डाइलासिस गरीएको उपचारमा खटिएका वालरोग विशेषज्ञ डा. निरज आचार्यले बताउनु भयो । उपचारमा खटिएका अर्का चिकित्सक फीजिसियन डा. अजयले वालकको दुवै मृगौलाले सामान्य काम गर्न थालेपछि लामो उपचारपछि डिस्चार्ज गरीएको जानकारी दिनु भयो । रोल्पामा १० जनालाई अरीङ्गालले टोकेर घाइते बनाएकोमा एक जनाको मृत्यु भएको थियो । स्कुलवाट घर फकीदै गरेको वालकहरुलाई अरीङ्गालले टोकेर घाइते बनाएको थियो । घाइते वालकहरुमध्ये शंकरलाई मात्रै ५० वटा अरीङ्गालले टोकेको थियो । अरीङ्गालको टोकाइले वालकको मृगौलामा समस्या उत्पन्न भएको थियो । घाइते भएक ९ जना उपचारपछि फर्कीसकेका छन भने शंकर अलि गम्भिर विरामी परेका थिए । ‘अरीङ्गालले टोकेर घाइते भएका शंकर अलि बढि सिरीयस नै थियो, पिसाव दुई दिनसम्म आएको पनि थिएन, शरीर पुरै सुन्निएको थियो, उच्च रक्तचाप पनि थियो –डा. आचार्यले भने–अहिले मृगौलाले काम गर्न सुरु गरेको छ, उच्च रक्तचाप पनि छैन, त्यसैले विरामी वालकलाई आज डिस्चार्ज गर्यौ ।’

प्रतिक्रिया