नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखा घोराहीको १० औँ साधारण सभा सम्पन्न

Admin


घोराही,१३ कार्तिक । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखा घोराहीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शाखा सभापति रुपा वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हु्मा डिसीको प्रमुख आतिथ्य एवं नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रिय उपाध्यक्ष शरद अधिकारीको विशिष्ट आतिथ्यमा आज घोराही १४ झिगौरामा सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि डिसीले अपांग संघ सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, प्रवद्र्धन गर्दै संस्थागत विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । अपांगता भएकाहरुका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्थालाई स्थानीय सरकारले सहयोग गर्दै आएकोमा आगामी दिनमा थप सहयोग कसरी जुटाउन सकिन्न भन्ने बारेमा आफु गम्भीर रहेको बताउनुभयो । अहिले पनि अपांग संघमा बस्दै आएकाहरुलाई खानेपानीको समस्या रहेको, संस्था संचालनका लागि आर्थिक समस्या भईरहेको लगायत विषयमा सरोकार निकायलगायत सबै पक्षलाई यसको महत्वका बारेमा सुसूचित गर्दै अपनत्व दिलाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि अधिकारीले अपांगता भएकाहरुको पक्षमा राज्य अझै उदार बन्न नसकेको बताउनुभयो । उहाँले आफुलाई नपर्दासम्म मेरो दायित्व होईन भन्ने परिपाटीका कारण अपांगता भएकाहरु आजका दिनसम्म आई पुग्दा पनि अनेक समस्याबाट गुज्रिनु परिरहेको बताउनुभयो । संस्थाले थुप्रै सकारात्मक प्रयास गर्दै समुदायमा राम्रो छाप छोड्न सफल भएको बताउँदै उहाँले आगामी दिनमा अपांग संघलाई प्रदेशकै गौरवगर्न लायक संस्था बनाउन सबैको साथ चाहिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर १४ की वडा सदस्य रचना कुमाल, संस्थाका सल्लाहकार भुपाल गिरी, सुष्मा गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, आजीवन सदस्य हरिप्रसाद पाण्डेय, लालमणि पौडेल, सदस्य चिन्तामणि पौडेललगायतले संस्थाको वृहत्तर विकासका लागि गर्न सकिने प्रयासका बारेमा सुझाव दिँदै आ–आफ्नो भनाई राख्नुभएको थियो । संस्थाका कोषाध्यक्ष दुर्गालाल केसीले संस्थाको आर्थिक प्रगति र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच, संस्थाको साधारण सभाको अवसरमा अपांग संघमा विभिन्न समयमा अक्षय कोष स्थापना गर्नुभएका अक्षयकोष दाता तथा जिन्सीलगायत सामग्री सहयोग गर्नुहुने दातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा मेघबहादुर पुन, नोबेल वचत तथा ऋण सहकारी संस्था, अमेरिका बस्दै आउनुभएका अनिल काफ्ले र विन्दु काफ्ले, सम्राट जिसी, डिल्लीबहादुर खड्का रहनुभएको छ । उपाध्यक्ष निशान्त आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको साधारण सभाको सहजीकरण सचिव भुमा चौधरीले गर्नुभएको थियो ।


प्रतिक्रिया