नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको विजेता दंगाली लायन्स

Admin

दाङ क्रिकेट सङ्घद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्‍यो। घोराही क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। 

तुलसीपुर रोयल्सको ब्याटिङमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए। यस्तै विपिन खत्री, वीर बहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट तथा शङ्कर रानाले १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो। दंगालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमदले २४ तथा अङ्कित बुढाले ११ रन बनाए।

बलिङतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए। रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन विकले १–१ विकेट लिए। उपाधि सहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो। 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद घोषित भए। यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरनधारा च्यालेन्जर्सका दीपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम खनाल घोषित भए। प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०–१० हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैयाँ पाए।  

दाङ क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा पाँच वटा फ़्रेन्चाइज् टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।

प्रतिक्रिया