शिव राज खनाल
दाङ, २४ पुस । दाङको राजपुर गाउँपालिकामा सोमबार थारु कल्याणकारी सभा राजपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
थारु कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
राजपुर गाउँपालिका र वडा नम्बर ४ को वडा कार्यालयको संयुक्त आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा राजपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले थारु जातिको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउदै यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको जिकिर गरेका थिए । कार्यक्रममा थारु कल्याणकारी सभा राजपुरको कार्यालय भवन निर्माणका लागि आफुले राजपुर पालिकाबाट ५ र५ लाख गरि दुईपटकमा १० लाख बजेट विनियोजन गरिदिएको र अहिले कार्यालय भवनपनि निर्माण भइसकेको बताए । अध्यक्ष बुढाथोकीले सोमबार नव निर्मित कार्यालय भवनको उद्घाटन समेत गरे ।
कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपती देबि यादबले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । उनले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गरेकी थिइन् ।
कार्यक्रममा राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपतिदेवी यादव,गढवा गाउँपालिकि उपाध्यक्ष शारदा कुमारी चौधरी,थारु कल्याणकारी सभा दाङ क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरी,थारु कल्याणकारी सभा क्षेत्र नम्बर १ का पार्षद हल्लुप्रसाद चौधरी,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
थारु कल्याणकारी सभा राजपुरका सदस्य खुशीराम चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा थारु कला सम्बन्धि विभिन्न प्रतियोगिताहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजीकरण सभाका सचिव रामबकश चौधरीले गरेका हुन । माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।