घोराही,२८ साउन २०८०।घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९–०८० को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पालिकाले वर्षभरी सम्पादन गरेको काम बारे जानकारी गराउन र भए गरेका कामका बारेमा सुझाव लिने उद्देश्य सहित आज पालिकाले सार्वजनिक सुनुवाई गरेको हो । नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको सर्वाजनिक सुनुवाईमा नगरबासीले पालिकाले गर्दै आएको काम नागरिक लक्षित भएको बताउँदै अबका दिनमा आय आर्जनमा आधारित कार्यक्रम संचालन गर्न सुझाव दिनुभएको छ । यसैगरी, बनेको कतिपय सडक पूर्वाधार, पुल पुलेसा, विकास निर्माणका काममा भएको ढिलाईले टोलबासीलाई समस्या भईरहेको बताउँदै चाँडो काम सम्पन्न गर्न पालिकाले सम्बन्धित निकायसँग समन्वय गरी पूरा गर्न तर्फ ध्यान दिन अपिल गर्नुभएको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका सूचना अधिकृत भीमबहादुर चौधरीले पालिकाले वर्षभरी गरेका काम सहित प्रगति बारे जानकारी गराउनु भएको थियो ।
सो अवसरमा नगरबासीहरुले आफ्ना टोलहरुमा भएका काम र देखा परेका समस्या सुनाउनु भएको थियो । कार्यक्रममा घोराही १३ का सुर्ज बहादुर बाठामगर, घोराही २ का नारायणबहादुर नेपाली, घोराही –१७की मालती शर्मा, घोराही १३ की इन्द्रा बुढालगायतले सुझाव सहित जिज्ञासा राख्नुभएको थियो । सहभागीबाट आएका जिज्ञासा र प्रश्नको जवाफ वडा अध्यक्ष, उपप्रमुख तथा नगरप्रमुखले दिनुभएको थियो ।