घोराही,५ फाल्गुन । घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्मको चारलेन सडक नवन्दा सवारी आवागमन कष्टकर बन्दै गएको र यात्रुहरुलाई सास्ती भएको भन्दै २४ किलोमिटरको दवाव र्याली गरिएको रास्वपा दाङले जनाएको छ । घोराहीको ट्राफिक चौकबाट बिहान ९ बजे देखी शुरु भएको पैदल यात्रा दिउँसो ३ बजे तुलसीपुर पुगेको थियो । र्याली पछि तुलसीपुरमा आयोजित कार्यक्रममा बक्त्ताहरुले नागरीकसंग प्रत्यक्ष जोडिएका भौतिक संरचना निर्माणलाईलाई अलपत्र पारी जनतालाई सास्ती दिने काम अविलम्ब बन्द हुनु पर्ने र निमार्णको कामलाई गति दिन सरकारसंग माग गरेका छन् ।
लमही–घोराही–तुलसीपुर फोरलेन योजनाको नाममा २०७५ माघ १४ गते १ अर्व २५ करोडमा ठेक्का सम्झौता भएको सडक निर्माण कम्पनीले अलपत्र पारेपछि २०७९ चैत २६ गते ठेक्का रद्द गरिएको थियो । भारतीय एक्जीम बैँकको आर्थिक सहायतामा निमार्ण हुने भनिएको सडक ७ वटा ठेकेदार फेरीदापनि नबनेपछि गत चैतमा ठेक्का रद्द गरिएको थियो ।
घोराही तुलसीपुर अलपत्र चारलेन सडककै कारण ४ वर्षको अवधीमा २५ जनाको सवारी दुर्घटनामा मृत्यु भैसकेको छ ।
अलपत्र सडकलाई गत असोजमा केही मर्मत गरेता पनि पुनः ठेक्का प्रकृयामा लगेर चारलेनकै रुपमा काम शुरु गर्नुपर्ने माग राख्दै जिल्लामा दवावमूलक कार्यक्रमहरु भैरहेका छन् ।