ट्राफिक सप्ताह अभियान ः १८ स्थानमा जेव्राक्रस र चार हजार पर्चा वितरण

Admin


घोराही, २१ असोज

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि थालेको ट्राफिक सप्ताह अन्तरगत विभिन्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । साप्ताहको चौथो दिन पैदल यात्रुलाई सडक पार गर्न जेव्राक्रसको आबस्यकता हुन्छ भन्ने सन्देश दिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रमा ति जेव्राक्रसहरु कोरिएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिनुभयो । ट्राफिक नियमको पालनालाई अनिवार्य गर्दै सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न सप्ताहको चौथो दिन १८ स्थानमा ति जेव्राक्रस कोरिएको हो । जस अनुसार घोराहीमा ३, नारायणपुरमा १, भालुबाङमा ३, तुलसीपुरमा ४, बागरमा २, खिलतपुरमा ३ र लमहीमा २ वटा स्थानमा जेव्राक्रस कोरिएको हो । बजार क्षेत्रमा भिडभाड हुने र पैदल यात्रुले बाटो कहाँबाट र कसरी काट्ने भन्ने ज्ञान समेत नहुदा दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जेव्राक्रस कोरिएको प्रहरी निरीक्षक मल्लको भनाई छ । नागरिकहरुमा जानकारी नहुदा र अटेरि गर्दा पनि सानो दुर्घटनाले ठूलो क्षती निम्त्याउन सक्ने भएकाले ट्राफिक चिन्हहरुलाई अनिवार्यरुपमा पालना गर्न समेत आम नागरिक एवं सरोकारवालाहरुलाई प्रहरीले सचेत पार्दै आएको बरिष्ठ हवल्दार टेकबहादुर कुसारीले जानकारी दिनुभयो । ट्राफिक सचेतना कार्यक्रम अन्तरगत प्रहरीले ४ हजार थान पर्चा वितरण र ३ सय ८० वटा स्टीकरहरु गाडीमा  टाँसिएको छ । कुन कुन कुराहरु पालना गर्दा दुर्घटनाबाट बच्न सकिन्छ भन्ने कुराहरु बुँदागतरुपमा लेखिएका कुराहरु पर्चामा उल्लेख छन् भने स्टीकरणमा दुर्घटना न्यूनिकरणमा सबैले नियमको पालना गरौ भन्ने कुरा लेखिएको छ ।

प्रतिक्रिया