तुलसिपुर,१६ असोज । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल ९ वर्ष देखि एम्बुलेन्स विहीन छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्स विहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढा–टाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।
निजी एम्बुलेन्सले महंगो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।
अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. पदमराज अधिकारीले बताए । पटक–पटक विग्रिने र बनाउँदा ५/७ लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाई छ।पटक–पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्य भन्दा बढि मर्मत मै खर्च हुने भयको हुनाले पनि हामीले अहिले यसलाई थन्काएर राख्नु पर्ने अवस्था आएको छ ।”