शिब राज खनाल
देउखुरी २७ असोज । चाडपर्व नजिकिँदै गएपछि राजपुर गाउँपालिकाले स्थानीय बजार अनुगमनलाई तीव्रता दिएको छ । पालिकाले पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरेको हो ।
पालिकाले स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष धनपती देबि यादबले जानकारी दिनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको उपाध्यक्ष यादबले बताउनु भयो । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको भनाइ छ। बजारका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार म्याद गुज्रिएका सामानमा खाने तेल, प्याकेजिङ मसला ,दालमोट, भुजिया, चिजबल, चियापत्ति लगायत रहेका छन् । म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको पालिकाको भनाइ छ ।
अनुगमनमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देबि यादब, प्रहरी चौकी चङुवाका इन्चार्ज महाबिर चौधरी , पत्रकार ,गाउँपालिका कर्मचारी लगाएतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।