पर्यटकीय थलो टेङ्गनैया

Admin

पर्यटकीय थलो टेङ्गनैया  दाङ, २२ पुस । दाङको लमही नगरपालिका वडा नम्बर ८ अन्तर्गत पर्ने निम्बुखुटीको सामुदायिक वनभित्र पहाडको फेदीमा अवस्थित छ टेङ्गनैया बाबा । यहाँ रहेको शिव मन्दिरको आसपासमा सधैँ पानी रहिरहने भएकोले यस क्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि चार किलोमिटर उत्तरमा रहेको सो मन्दिर धार्मिक इतिहाससँग जोडिएको जानकार बताउँछन । परापूर्व कालमा पाँच पाण्डवहरू स्वर्ग जाने क्रममा रिहार हुँदै यस क्षेत्रमा विश्राम गरी घोराही उपमहानगरपालिका वडा नं। ५ स्थित धारापानीको पाण्डवेश्वर मन्दिरमा समेत विश्राम गरि स्वर्गद्वारी पुगेको धार्मिक किम्बदन्ती छ ।

यहाँ रहेको गुफा मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका कान्छा चेला थानी महाराज ध्यान तपस्याको बेला देखेर भौतिक रूपमा पटकपटक खोजी गरेको स्थानीय बुद्धिजीवी बताउँछन् । जङ्गल गएको बेला सुरुमा स्थानीय अग्रज व्यक्तित्व स्वर्गीय आइतुराम बरालले गुफा मन्दिरलाई देखेपछि स्थानीय स्तरमा प्रचार सुरु भएको पुराना गाउँबासी बताउँछन् ।

यस मन्दिरमा शिवरात्रीको अवसरमा ठुलो मेला लाग्ने गर्दछ । साथै प्रत्येक सोमवार भक्तजनले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहँदै आएको छ । स्थानीय सरकार, सामुदायिक वनहरूको सहयोगमा गाउँदेखि गुफा मन्दिरसम्म पुग्ने गोरेटो बाटोको ट्रयाक खोलिएको छ तर उक्त बाटो बर्सेनि बर्खा याममा बिग्रिएको देखिन्छ ।


स्थानीय सरकारले पक्की बाटोतर्फ ध्यान दिए टेङ्गनैयाको थप विकास हुने निश्चित छ । त्यसो त लमही नगरपालिकाले हालसालै स्थानीय पाठ्यपुस्तकमा टेङ्गनैया बाबाबारे समावेश गरेको छ । खास गरी स्थानीय स्तरको कक्षा ४ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकमा टेङ्गनैया बाबाको इतिहासबारे समावेश गरिएको हो 

प्रतिक्रिया