नेवा सप्लायर्स दाङ भ्याकेशन लिग २०८० मा घोराही क्रिकेट एकेडेमीको विजयी शुरुवात

Admin

छबि पुरी

घोराही, ९ मंसीर । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारबाट शुरु भएको नेवा सप्लायर्स दाङ भ्याकेशन लिग २०८०मा घोराही क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ  । घोराही १७ स्थित गुलरिया क्रिकेट रंगशालामा भएको खेलमा युएनबिसी क्रिकेट क्लवलाई पााच विकेटले पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको युएनबीसी क्रिकेट क्लवले ३० ओभरमा अलआउट हुँदै १२८ रन बनायो । पचास ओभरको खेलमा शुरुवातबाटै दवावमा परेको युएनबीसीका लागि ३ जना ब्याटरले दोहोरो अंक जोड्नु बाहेक सम्झनलायक प्रर्दशन गर्न सकेनन् । युएनबीसीका लागि सुरेन्द्रसिंह ठकुरीले २५, बीरबहादुर घर्तीले १५, प्रकाश रोकाले ११ र विजय बाठा मगरले ९ रन बनाउनुबाहेक अरु खेलाडीले रन जोड्न सकेनन् । युएनबीसीलाई सस्तैमा समेट्न घोराही क्रिकेट एकेडेमीका वृषम सेन्चुरीले ३, किसन भारती र करण घर्तीले २–२ तथा आयुस वली र मिलन जिएमले समान १–१ विकेट लिनुभयो ।

एक सय २९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घोराही क्रिकेट एकेडेमी २४ दशमलव २ ओभरमा आफ्नो पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । घोराहीका लागि आशिष वलीले अर्ध शतकसहित ५७ रन बनाउँदा विषम थापाले ११, अभिषेश चौधरीले १० तथथा आयुष वलीले ८ रन बनाउँदै सहज जीत दिलाउनुभयो । यूनएनबीसीका सुरेन्दैसिंह ठकुरीले ३ र बीरबहादुर घर्तीले १ विकेट लिँदा १ विकेट रनआउट भएको थियो । लिगको पहिलो खेलमा घोराहीलाई सहज जीत दिलाउन ५७ रनको योगदान दिनुभएका आशिष वली म्यान अफ द म्याच भएको क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी  दिनुभयो । होम एण्ड अवेका आधारमा खेलाईने लिगको अर्को खेल शनिबार गुलरिया क्रिकेट रंगशालामा इजाइन क्रिकेट क्लव घोराही र देउखुरी वारियर्स, लमही बीच खेल हुने भएको छ । जिल्लाको घोराही, लमही र बबईमा लिग खेलाउने गरी प्रतियोगिताको थालनी भएको हो । जिल्लाभरका ९ वटा टिमको सहगाभीता रहेको लिगका खेलहरु आगामी ७ महिनासम्म हरेक शनिबार खेलाईने छ । लिगमा विभिन्न उमेर समुहका खेलाडीलाई समावेश गरी खेलाउन थालिएको दाङ जिल्ला क्रिकेट संघले जनाएको छ ।

नेवा सप्लायर्स दाङ भ्याकेशन लिगको उदघाटन समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको लिगले खेलाडीहरुमा खेल भावनाको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको प्रमुख आतिथ्यमा लिगको उदघाटन गरिएको हो ।  सो अवसरमा प्रमुख अतिथि पुनले तल्लो तहबाटै खेल क्षेत्रको विकासका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया