शिवराज खनाल
देउखुरी, २२ पुस । राजपुर गाउँपालिकामा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा चार सय बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्स–रे सेवा, मानसिक समस्या भएकालाई मनोपरामर्श, छाला रोग, प्यालेटिभ केयरसम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधी वितरण सेवासमेत प्रदान गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको भनाइ छ ।
शनिवार गाउँपालिकाको आयोजना र फ्लोरेन्स अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् । शिविरमा वृद्धवृद्धाहरूमा ढाडकम्मर दुख्ने, स्त्री रोगसम्बन्धी परीक्षण भएकोमा पाठेघरको मुखमा घाउ भएका, पाठेघरमा मासु पलाएको, सेतोपानी बग्ने, छालासम्बन्धी समस्या पहिचान भएको डाक्टर पुष्प भुसालले बताए । शिविरमा हार्डजोर्नी डा। ब्राइम पोख्रेल, महिला तथा प्रसूति रोग विशेषज्ञ विनय विक्रान्त, जनरल फिजिसियन डा पुष्प भुसाललगायतका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।