काठमाडौँ । पछिल्लो समय नेपालले लगातार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर पाइरहेको छ।
अत्यधिक क्रिकेट समर्थकका कारण अन्तर्राष्ट्रिय रूपमा नै चर्चाको शिखरमा पुगेको नेपालमा अब टी-२० विश्वकपको एसिया छनोटको जिम्मा समेत नेपालले पाएको क्यानले जनाएको छ।
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले नेपाललाई एसिया क्षेत्रको छनोट चरण अन्तर्गत आगामी नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजनाको अधिकार नेपालले पाएको हो।
एसिया छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्। बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आएपछि तय हुने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगिता समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान पक्का गर्ने छन्।
खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयोजना हुने छ। केही समयअघि एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना सुरु गरिएको छ।
६ महिनाअघि आइसिसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको पृष्ठभूमिमा ट्वान्टी(२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ।
नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।
टी-२० विश्वकपमा पहिलो पटक २० राष्ट्र प्रतिस्पर्धा गर्दै छन्। एसियासहित अफ्रिका र युरोपबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १(१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्ने भएकाले धेरै राष्ट्रले विश्वकपको अवसर प्राप्त गर्न लागेका हुन्।
खेलका लागि मैदानको अवस्थाको निरिक्षण र सुधार गर्न आइसिसीले क्यानलाई मैदान निरीक्षणपछि आवश्यक सल्लाह दिने क्यानले जनाएको छ।