अन्तराष्ट्रिय लोकसाँस्कृतिक महोत्सवको तयारी तीब्र, विभिन्न समिति विस्तार

Admin

घोराही, ८ फाल्गुन। एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने बाह्रौं अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको आयोजक  जिल्ला उद्योग वाणिज्य संघले तयारीमा तीब्रता दिएको छ ।

अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार गरेका छन् ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकत्वमा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । जसमा घोराहीको सम्पूर्ण वडा अध्यक्षहरु, दाङका सम्पूर्ण उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्ष, दाङका क्रियाशील संस्था, समाजसेवी रहने गरी २६३ सदस्यीय मुल आयोजक समिति रहेको छ । त्यसैगरी राजनीतिक दलका प्रमुख , दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, दाङका सवै पालिका प्रमुखको सल्लाकार समिति समेत बनेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य युवराज पोख्रेलको संयोजनमा दाङका सम्पूर्ण मिडियाका प्रतिनिधि रहने गरी प्रचारप्रसार समितिको पनि विस्तार गरेको छ ।

नेपाल सहित भारत, जर्मन, अष्ट्रेलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने छ । महोत्सवमा १८ गते दाङ झल्किने झाकी, भेषभुषा सहित घोराही बजार परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुतिका साथ उद्घाटन हुने छ भने १९ र २० गते  रास्ट्रीयस्तरका चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहने छ भने २१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देशको मौलिकता झल्किने प्रस्तुति रहने छ ।

उक्त महोत्सवको टिकटको मुल्य  निधारण पनि गरिएको छ । १८ गते  निशुल्क प्रवेश तथा १९र २० गते रु १०० टिकट शुल्क लाग्ने छ भने  २१ गते सोमबार  नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट रु ५०० तथा नर्मल टिकट रु १०० रहेको तथा जेष्ठ नागरीकलाई प्रवेश निशुल्क रहेको मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो । संयोजक जोशीका अनुसार भिआईपी टिकटलाई कुर्सीमा बसेर तथा नर्मललाई दरिमा बसेर हेर्न पाउने ब्यवस्था भएको बताउनुभयो ।

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुनुका साथै उक्त महोत्सववाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै  यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचीव विकास वलीले  बताउनुभयो ।

वलीको अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्री  रहने तथा  दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहने जानकारी दिनुभयो।

यो महोत्सव मुनाफा रहित रहेको भन्दै स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई सफल बनाउन सम्पूर्ण दाङवासी लाग्न आयोजकले आग्रह गरेको छ ।


प्रतिक्रिया