लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्की

Admin

दाङ, १ जेठ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की बनेका छन् । गत मंसिर ४ को चुनावमा मास्की दाङ क्षेत्र नं। ३ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मास्कीलाई केही समयअघि नै आर्थिक मामिला मन्त्री बनाउन खोजे पनि माओवादीभित्र विवाद थियो ।

बाँकेबाट निर्वाचित माओवादी केन्द्रकी सांसद कृष्णा केसीले पनि आर्थिक मामिला मन्त्रालयमा दाबी गरेकी थिइन् । तर आइतबार पार्टी बैठकमा कृष्णा अडानबाट पछि हटेपछि मास्कीलाई आर्थिक मामिला मन्त्री हुने बाटो खुलेको थियो । यसअघि नेकपा एमाले संसदीय दल नेता लीला गिरी मुख्यमन्त्री हुँदा केसी बिना विभागीय मन्त्री भएकी थिइन् । सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेका अनुसार अर्थमन्त्रीको जिम्मेवारी मास्कीलाई तोकिसकिएको छ ।

लुम्बिनीमा अन्य २ जना बिनाविभागीय मन्त्रीलाई पनि मंगलबारसम्म मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । साथै थप २ जना नयाँ मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री चौधरी छन् । मुख्यमन्त्री चौधरीसँगै गत वैशाख १५ गते तीन जना मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए । आठ दल र एक स्वतन्त्र सांसदसमेत ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चौधरीले वैशाख १९ मा विश्वासको मत लिएका थिए । चौधरी नेतृत्वको सरकारलाई नेकपा एमाले र राप्रपाबाहेक प्रदेशमा रहेका अन्य दलहरूको सर्मथन छ । बजेट ल्याउनु पर्ने समय नजिकिएकोले मुख्यमन्त्री चौधरीलाई छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने बाध्यता छ । लुम्बिनीमा कांग्रेसलाई ४ र माओवादीलाई ३ मन्त्रालय दिने सहमति भएको छ ।

प्रतिक्रिया