दोस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ बन्यो च्याम्पियन

Admin

घोराही, २९ भदौ । दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा सिद्धार्थ एकेडेमी च्याम्पियन भएको छ । 

घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुक्रबार घोराही १४ स्थित कभर्ड हलमा शनिबार भएको फाईनलमा सिद्धार्थ एकेडेमीले २ स्वर्ण,  २ कास्य पदक जित्दै प्रतियोगिता च्याम्पियन भएको हो ।

यसैगरी, १ स्वर्ण १ रजत र २ कास्यसहित जनज्योति द्वितीय हुँदा १ स्वर्ण र १ रजतसहित पद्मोदय तृतीय भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया रोका र छात्रतर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन हुनुभयो । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको फाईनल खेलमा सिंगल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले २० को सोझो सेटमा पद्मोदय पब्लिक नमुना माविका राजीव रेग्मीलाई हराउनुभयो ।

छात्रातर्फ जनज्योति विद्यामन्दिरकि लिला मल्ल २–० को सोझो सेटमा लिटिल एञ्जलकी सुप्रिया रोकालाई हराउनुभयो । यसैगरी ब्याडमिन्टनको डबल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका  खगेन्द्र भण्डारी र समीर चौधरीले जनज्योति विद्यामन्दिरका जनज्योति विद्यामन्दिरका आभाष घर्ती र रञ्जित पुनलाई २–१ को सेटमा हराउनुभयो ।

प्रतियोगिता अन्तरगत डबल ईभेन्टमा छात्रातर्फ पद्मोदय पब्लिक नमुना माविका सुस्मिता वली र विजया पाठकले लिटिल एञ्जल स्कुलका चेतना घर्ती र सुप्रिया रोकालाई २–० को सोझो सेटमा हराउनुभयो ।

प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका थिए । पालिकामा रहेका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका हुन्  । प्रतियोगितामा कुल १८ वटा खेल भएको थियो । प्रतियोगिताको अम्पायरमा बालकृष्ण शाह, सञ्जिव श्रेष्ठ र सुनिल घिमिरे रहनु भएको थियो ।        

खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रको सहजीकरण प्रतियोगिता संयोजक श्रवणकुमार खनालले गर्नुभएको थियो ।


प्रतिक्रिया