घोराही २,भदौ । वर्षातको समयमा जंगलमा उम्रिएका सबै च्याउ खानका लागि योग्य हुदैनन् । चिकित्शक तथा विज्ञहरुले त्यस्ता च्याउहरु नखान सुझाव दिएपनि आफुखुसी प्रयोग गर्ने गरेका कारण बर्षेनी सयौँको सख्यामा मानिसहरु बिरामी मात्रै होइन केहीले त अकालमै ज्यान गुमाइ पनि रहेका छन् । यतिमात्रै होइन दाङका बजारहरुमा जंगली च्याउको खुल्लम खुल्ला बिक्रि हुने गरेको छ ।
दाङको बंगलाचुली ४ मैकुटी गाँउ यतीबेला शोकमा डुवेको छ । जंगलबाट ल्याएको च्याउ खाँदा अजय सुनार सहित घरका ३ जना गम्भिर बिरामी परे । उपचारका क्रममा अजयकी छोरी अस्मीता र श्रीमती इश्वरीको मृत्यु भयो भने अजय आफै गम्भिर अवस्थामा उपचारत छन् । गतवर्षको वर्षातले आफ्नो घर भत्कीएपछि माइतीको छेउमा अर्काको घरमा साहारा लिएर बसेका अजय सुनारको ६ जनाको परिवार
थियो । साउन २९ गतेको साँझ जंगली च्याउको तरकारी खाएका ३ जना मध्ये छोरी अस्मीता र श्रीमती इश्वरीको मृत्यु गुमाएका अजय घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्युलाई जित्नका लागि लडिरहेका छन् । च्याउको तरकारी नपाक्दै सुतेका ३ नावालक मृत्युको मुखबाट त बचेका छन् तर वर्ष दिनको उमेर नपुगेका १ छोरा र दुई छोरी अभिभावक नहुँदा विचल्लीमा छन् । दाङमा साउनयता जंगली च्याउ खाँदा ३० जना बिरामी परेको र २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गतवर्ष प्रदेशका १२ जिल्लामा जंगली च्याउ खाएर ९३ जना विरामी परेका थिए । यो वर्ष ५९ जना विरामी परेका छन् भने असार यता दाङ, रोल्पा र बाँकेका गरी ८ जनाको मृत्यु भैसकेको छ । बिभिन्न पक्षबाट विभिन्न खालका सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहँदा पनि दुर दराजहरुमा जनचेतनाको कमीका कारण दुखदायी तवरले यस खालको संख्या दिनानुदिन बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
मिठो तरकारीका रुपमा लिइने च्याउको व्यवसायीक खेती भैरहेको छ । खेति गरिएको च्याउ संगै वर्षातको समयमा जंगलमा उम्रिएका विभिन्न खाले च्याउहरु गाँउ तथा शहरमा पनि भित्रिने गरेका छन् । जंगली च्याउ खाएर बिरामी र मृत्यु भएका घटनाहरु बहिर आइरहँदा त्यही जंगलबाट ल्याएको च्याउ, विषालु हो कि होइन कोही पनि जानकार छैनन् ।सिजनको तरकारी भन्दै दाङका बजारहरुमा ६ सय देखी १ हजार रुपैयाँ प्रतिकिलो जंगली च्याउको खुल्लम खुल्ला बिक्रि भैरहेका छन् । यस खाले गतिविधीलाई लगाम लगाउन तर्फ कसैको चासो देखिदैन ।
बिषालु च्याउ खाँदा बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने लक्षण देखा पर्दछन् । बिषको असर तत्कालै मात्र नभएर केही पछी पनि देखिने हुँदा जसको कारणले कलेजो तथा मृगौलामा असर गर्ने र मानिसको ज्यानै जाने खतरा हुने चिकित्सकबहरु बताउछन् । व्यवसायीक रुपमा खेती गरिएका र कृषी विज्ञबाट सिफारिस भएका बाहेकका च्याउहरु खानै नहुने उनिहरुको सुझाव छ ।
च्याउ खानका लागि मिठो तरकारी मात्रै नभएर कतिपयमा औषधीय गुणहरुपनि हुने चिकित्शकहरुको भनाइ छ । तर त्यही च्याउ नचिनेर खाँदा थुप्रै मानिसहरुले अकालमा ज्यान पनि गुमाइ राखेका छन् । त्यसैले व्यवसायी खेती गरिएका बाहेक घर वरपर तथा जंगलमा उम्रिएका च्याउ नखानु नै बुद्धिमानि हुन्छ भने जंगलबाट ल्याएका च्याउहरुको निर्वाधरुपमा हुने बिक्रिवितरणलाई पनि नियन्त्रण गर्नु जरुरी छ ।